काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले प्रतिगनकारी भनेको र भण्डाफोर गरेको शक्ति नै पुनः हाबी हुने सम्भावना दर्शाएका छन्।
नेपाल दलित मुक्ति मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा शनिबार सम्बोधन गर्दै उनले कसैको नाम त लिएनन् तर एमाले र कांग्रेसबीच बन्न आँटेको गठबन्धनप्रति असन्तुष्टि व्यक्त गरे।
आजको दिनमा भने एमसीसीकै कारणले गठबन्धन नै टुट्ने र प्रतिगमनकारी शक्ति हाबी हुने स्थिति बनेकाले त्यसलाई रोक्नुपर्ने उनले बताए। 'कुनै खालको प्रतिगमनकारी गठबन्धन नआओस् र संविधान लोकतन्त्र र राष्ट्रियतको रक्षाको कसम खाएर बनेको गठबन्धन सजिलै नटुटोस् भनेर हामी लागिरहेका छौँ', उनको भनाइ थियो।
'हामीले गठबन्धन बनाउँदा भनेका थियौँ, यो संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न हो। जनतालाई भनेको र राजनीतिक दलको बीचमा भएको सहमति पनि त्यही थियो। त्यहाँ कहीँ कतै एमसीसी भन्ने कुरा त थिएन। गठबन्धन र सरकार बनिसकेपछि साझा न्यूनतम कार्यक्रममा पनि हामीले कहीँ कतै एमसीसीको बारेमा हामीले चर्चा गरेका थिएनौँ। त्यो परियोजनाको बारेमा विवाद र बहस छ, यथास्थितिमा बिना परिमार्जन समर्थन गर्न सकिँदैन भन्ने हाम्रो धारणा हामीले प्रष्टसँग राख्दै आएका थियौँ', प्रचण्ड भने।
उनले एमसीसीकै कारण उपलब्धिहरु गुम्ने खतरा रहेको बताए। ' लामो संघर्ष र धेरै ठूलो मेहनतपछि जनताका विभिन्न तहतप्का, सबै क्षेत्रका बुद्धिजीवीहरु, मानव अधिकारवादीदेखि नागरिक अगुवासम्म, राजनीतिक दलहरु, मुख्यतः माओवादी केन्द्रको अगुवाइको भएको देशव्यापी अभियानबाट जे प्राप्त भएको थियो। कहीँ एमसीसीको कारणले यो गुम्ने त होइन? भनेको जस्तो स्थिति आजको दिनमा देखापरेको छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।