काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि छलफल हुने भएको छ। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवासँग शनिबार पनि वार्ता हुने जनाएका हुन्।
अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता संसद्बाट पारित गर्ने सन्दर्भमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष एमालेसँग छलफल बढाएका छन्। सत्तारुढ गठबन्धनका दलहरुबाट एमसीसी पारित गर्न सहयोग प्राप्त हुन नदेखिएपछि देउवाले एमालेसँग छलफल अगाडि बढाएका हुन्।
शुक्रबार राति एमाले अध्यक्षसहित एमाले नताहरुकसँगको छलफलका लागि देउवासहित कांग्रेस नताहरु बालकोट पुगेका थिए।
बिहीबार र शुक्रबार विभिन्न चरणमा भएका छलफलमा सहमति जुट्न नसकेपनि वार्ता भने जारी राख्ने सहमति भएको एमाले उपमहासचिव ज्ञवाली बताउँछन्।
'हामीलाई संसद्मा बस्ने वातावरण बनाउनुस् हामी सहभागी भएर मुलुकको समस्या समाधानका लागि तयार छौं भनेर हामीले भन्यौं,' ज्ञवालीले भने, 'भोलि (शुक्रबार) पनि हामी बस्छौं। छलफल गर्छौं।'
कांग्रेस सभापति समेत रहेका देउवा पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर शुक्रबार बेलुकी ओलीको निजी निवास बालकोट पुगेका थिए।
दिनभर सत्ता पक्षका सहयात्रीहरु नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीसँग छलफल गरेका प्रधानमन्त्री देउवा पार्टीको आन्तरिक छलफल सकिएपछि ओलीलाई भेट्न पुगेका बालकोट पुगेका थिए।
कांग्रेस नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार बालकोटको वार्तामा प्रधानमन्त्री देउवाले अहिलेको अवस्थामा एमसीसी संसद्बाट पारित गराउनुपर्ने मुख्य विषय भएकाले यसमा सहयोग गर्न आग्रह गरेका थिए।
जवाफमा ओलीले भने आफूहरुलाई संसदीय प्रक्रियामा सहभागी गराउन १४ सांसद्लाई कारबाही गरिएको सूचना सभामुखले टाँस गर्नुपर्ने नभए सभामुखले राजीनामा दिनुपर्ने अडान दोहोर्याएका थिए।
'प्रधानमन्त्रीज्यूले एमसीसीलाई सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौं भन्ने प्रस्ताव गर्नुभएको छ। प्रमुख प्रतिपक्ष दलको नेता केपी शर्मा ओलीले पुरानै कुरा गर्नुभएको छ, हामीलाई संसद्मा प्रवेश गर्ने वातावरण बनाउनुस्। त्यसपछि हामी निर्णय गर्छौं भन्नुभयो,' कार्कीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।