काठमाडौं– सर्वोच्च अदालतसहित देशभरका अदालतमा स्वचालित पेसी (अटोमेसन) लागू गर्न सुझाव दिइएको छ।
न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा रहेको समितिले शुक्रबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई प्रतिवेदन बुझाउँदै यस्तो सुझाव दिएको हो।
अहिले सर्वोच्च अदालतमा अन्तरिमकालका लागि गोलाप्रथाद्वारा पेसी तोकिँदै आएको छ। न्यायाधीश कार्कीकै संयोजकत्वमा रहेको विकृतिविहीन न्यायालय अध्ययन प्रतिवेदनमा सर्वोच्च अदालतमा पेसी तोक्ने कार्यबाटै भ्रष्टाचार सुरु हुने औंल्याइएको थियो। उक्त प्रतिवेदनमै पेसी तोक्ने अधिकार प्रधानन्यायाधीशबाट झिकेर अटोमेसनमा लैजानुपर्ने भनिएको थियो।
२०७७ साउन २७ को निर्णयानुसार स्वचालित पेसी व्यवस्थापनका सम्बन्धमा यसअघि भएका अध्ययन प्रतिवेदनहरुसमेतको अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेशसहित समिति गठन भएको थियो।
उक्त समितिले फुलकोर्ट बसेर छिटै अटोमेसनमा पेसी लैजान सुझाव दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।