काठमाडौं– विनापासपोर्ट र टिकट नभएका व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र प्रवेश गरी कतार जान लागेको विमानमा चढेको घटनाको छानबिन गर्न समिति गठन भएको छ। गृहमन्त्रालयले अध्यागमनका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो।
छानबिन गरेर एक साताभित्रमा प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिइएको गृहका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए। विमानस्थलको सुरक्षा अवस्था, विभिन्न निकायको कार्यविभाजन, कमजोरी, सुधारका उपायसहित औंल्याएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको प्रवक्ता पोखरेलले बताए।
फागुन ९ गते राति पौन ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहा जान लागेको नेपाल वायुसेवा निगमको जहाजमा एक युवक चढेका थिए। विमानका कर्मचारीले उनको कागजात जाँच गर्ने क्रममा पोसपोर्ट, टिकटसमेत नपाइएपछि विमानस्थल सुरक्षामा चरम लापरबाही भएको पाइएको थियो।
कागजात नभेटिएपछि ती युवकलाई विमानबाट झारिएको थियो। यसरी विनाकागजात विमानसम्म पुगेर कतार उड्न लागेको जहाज चढ्ने व्यक्ति थिए, रौतहटका १८ वर्षीय हस्पम आलम।
उनी यसरी विनाकागजात विमानमा चढेको यो पहिलो घटना भने होइन। करिब एक महिना अघि पनि उनी यसैगरी विमानमा चढेका थिए। यसले विमानस्थल सुरक्षामा चरम लापरबाही रहेको देखिएको छ। सुरक्षाकर्मीको घेरो छल्दै विमानमा चढेका आलमलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त गौशलामा राखेर अनुसन्धान सुरु गरिएको छ। आलमको मानसिक अवस्था ठीक नभएको प्रहरी स्रोतका भनाइ छ।
उनी काटेश्वरतर्फको बारबाट प्रवेश गरेको पाइएको प्रहरीले जनाएको छ। विमानस्थलको बाहिरी पेरिमिटरको सुरक्षा जिम्मा सेनाको भएकाले सेनाकै कमजोरीका कारण ती युवक विमानसम्म पुगेको प्रहरीको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।