काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिले नै गठबन्धन नटुटेको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेताहरुसँगको वार्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
‘अहिले नै यो गठबन्धन टुटेको छैन। गठबन्धन कायमै छ,’ उनले भने,‘सरकारले नै ल्याएको प्रस्ताव हो।’ उनले दलहरुसँग छलफल र वार्ता जारी रहेको भन्दै विभिन्न विकल्पमा छलफल भइरहेको समेत जानकारी दिए।
यसअघि बालुवाटारमा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देवउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताबीच भेटवार्ता चलिरहेको बेला एमालेका स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले ‘परिवर्तनको सम्भावना’ रहेको भन्दै फेसबुक स्टेटस् लेखेका थिए।
‘राष्ट्रिय राजनितीमा आजै केही परिवर्तनको सम्भावना,’ उनले लेखेका छन्। एमालेले कांग्रेससँग आफूले कारबाही गरेका १४ सांसद्को कारबाही सदर हुने र सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमनको उपाय खोजेको नेताहरुले बताएका छन्। त्यसो भएमा आफूहरुले संसद् बैठकमा सहभागी हुने वातावरण बन्ने र एमसीसीमा सघाउन सकिने प्रस्ताव राखेको छ। एमसीसी पारित गर्ने सर्तमा कांग्रेस त्यसका लागि तयार हुने आकलन गरिएको छ।
ओली नेतृत्वको तत्कालीन सरकारका अर्थमन्त्री युवराज खतिवडाले दर्ता गरेको एमसीसीलाई फागुन ८ गते प्रतिनिधि सभामा टेबल गरिएको छ। फागुन १६ अघि नै त्यसलाई पारित गर्नका लागि कांग्रेसले सक्रियता बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।