काठमाडौं- युक्रेनमा रहेका नेपालीलाई संयमता अपनाई हाल बसोबास गरिरहेको घरभित्रै सुरक्षित बस्न दूतावसले आग्रह गरेको छ।
जर्मनीको बर्लिनमा रहेको नेपाली राजदूतावासले बिहीबार एक सूचना जारी गर्दै विकसित पछिल्लो परिस्थितमा युक्रेनको हवाई क्षेत्र बन्द रहेकाले घरमै बस्न आग्रह गरेको हो।
बिहीबार रुसले आक्रमण थालेसँगै युक्रेनको सरकारी हवाई ट्राफिक सेवाले देशको हवाई क्षेत्र बन्द गरिएको बीबीसीले जनाएको छ। यात्रुवाहक विमानको उडान सुरक्षा ‘उच्च जोखिम’मा रहेका कारण किभको समय अनुसार पौने तीनबजेदेखि सबै उडान रद्द गरिएको हो।
‘आज बिहानैदेखि विकसित घटनाक्रम समेतलाई दृष्टीगत गर्दा युक्रेनको हवाई क्षेत्र अल्पकालीन रुपमा बन्द भएकोले हवाइमार्गबाट तत्काल युक्रेन छोड्न सम्भव नहुने देखिएको छ,’ दूतावासले भनेको छ,‘त्यसैले संयमता अपनाई हाल बसोवास गरिरहेको स्थानमा घरभित्रै सुरक्षित रुपमा रहनु होला।’
यस्तै, युक्रेन सरकार र सम्बन्धित कलेज/युनिभर्सिटी/कम्पनीद्वारा जारी निर्देशनको पूर्ण पालना गर्न र सम्भव भएमा सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिम तर्फका बढी सुरक्षित स्थानमा जानसम्म दूतावासले आग्रह गरेको छ। करिब १३० जना नेपाली युक्रेनमा रहेको भनिएपनि एकिन तथ्याक सरकारसँग छैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।