फाइल तस्बिर
काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी नियोग मिलेनिय च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौतालाई लिएर मुलुकमा राजनीतिक संकट आउने जोखिम बढेको बताएका छन्। कैलालीको धनगढीमा पार्टीनिकट युवा संघ नेपालको सुदूरपश्चिम प्रदेशको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
‘एमसीसीको विषयमा वार्ताका माध्यमबाट नै समाधान होस् भन्ने हाम्रो पार्टीको प्रष्ट धारणा हो,’अध्यक्ष नेपालले भने, ‘एमसीसीमा भएका त्रुटिहरु सुधार्नका लागि समय पाइयोस् भन्ने हो।’
यथास्थितिमा एमसीसीलाई कुनै पनि हालतमा पारित गर्न नसकिने उनको भनाइ छ। उनले एमसीसी परियोजना विशुद्ध आर्थिक सहयोगको परियोजना बनोस् भन्ने आफूहरुको प्रष्ट धारणा रहेको नेपालको भनाइ छ।
‘इण्डो प्यासिफिकको सदस्य, सैन्य गठबन्धनको अंग बन्ने कुरा, नेपालको भूमि प्रयोग गर्ने दिने कुरा स्वीकार गर्न सक्दैन,’ उनले भने, ‘नेपाल स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै अगाडि बढ्न चाहन्छ। हाम्रो देशको भूमिमा निर्माण हुने संरचनामा नेपालकै स्वामित्व रहने छ।’
उनले नेकपा एमालेको आलोचना गर्दै केपी ओलीको प्रवृत्तिका कारण उक्त पार्टीमा ठूलो विद्रोह हुन लागेको समेत दाबी गरे।
‘एमालेको ध्यान एउटै कुरा छ, एकीकृत समाजवादीलाई समाप्त पार्ने। १४ जना सांसदलाई कसरी कारबाही गर्न सकिन्छ भन्नेमा मात्रै छ,’ उनले भने। उनले सम्बोधनका क्रममा एमसीसी पास गर्ने सत्तामा एकीकृत समाजवादी बस्न नसक्ने प्रष्ट पारे।
उनले एमसीसीकै कारण सत्ता गठबन्धनमा समस्या देखिएको भन्दै नेपालको हितमा नभएको एमसीसीका केही बुँदा संशोधन हुन आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।