काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफूहरु तत्काल गठबन्धन तोड्न नहुने पक्षमा रहेको बताए। विशेष परिस्थितिमा गठबन्धन बनाएको बताउँदै यादवले पुन: तत्काल गठबन्धन तोडेर जान नहुने बताए।
‘हामीले विशेष परिस्थितिमा गठबन्धन बनायौं। तत्काल गठबन्धन तोड्नु पर्छ भन्ने छैन। एमसीसीको पक्षमा उभिने कि विपक्षमा उभिने भोलि बस्ने कार्यकारिणी समिति बैठकले जे निर्णय गर्छ त्यहीँ गछौ’ नेपाल लाइभसँग कुरा गर्दै यादवले भने, ‘हामी तत्काल गठबन्धन तोड्ने र सरकारबाट निस्कने भन्ने छैन। यथास्थितिमै गठबन्धनमा रहनु पर्छ भन्ने छ।’ एमसीसीका विषयमा छलफल गर्न जसपाले शुक्रबार कार्यकारिणी समितिको बैठक बोलाएको छ। त्यस बैठकबाट एमसीसीका विषयमा पक्ष वा विपक्ष कुन कित्तामा उभिने निर्णय गर्ने यादवले बताए।
जसपामा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई एमसीसीका विषयमा वकालत गर्दै आएका छन्। जसका लागि उनले सांसदको हस्ताक्षर संकलन समेतगरी सकेका छन्।
बाबुरामको पक्षमा १० जना सांसद खुलेरै लागि सकेको छन्। तर, यादव भने एमसीसी तत्काल पारित गर्न नहुने पक्षमा छन्। एउटै पार्टी दुई कित्तामा उभिएपछि जसपा विभाजनको अवस्थामा पुगेको छ।
यस्तो अवस्थामा जसपाले पार्टी एकता जोगाउन एमसीसीमा सांसदलाई स्वविवेक प्रयोग गर्न दिने तयारी गरेको छ। यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनेक्रममा जसपाले आफ्ना सांसदलाई स्वतन्त्र विवेक प्रयोग गर्न दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।