काठमाडौं– रुस–युक्रेन तनावबारे नेपालले औपचारिक धारणा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो।
नेपालले युक्रेनको घटनाक्रमलाई नजिकबाट नियालिरहेको र तनाव नबढाउन सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेको छ।
‘संयुक्त राष्ट्र संघको सदस्यको हैसियतमा नेपालले संयुक्त राष्ट्रको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरू पवित्र छन्। सबै सदस्य राष्ट्रहरूले यसलाई पूर्ण रूपमा सम्मान गर्नुपर्छ भन्ने धारणा राख्छ’, विज्ञप्तिमा लेखिएको छ।
त्यसैगरी, युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रहरूलाई रुसले स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिनु संयुक्त राष्ट्र संघको बडापत्रको प्रावधानको विपरीत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
‘नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।