काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनका कारण वाध्य भएर एमालेसँग मिल्नुपर्ने अवस्था सिर्जना हुन लागेको दाबी गरेका छन्। गृह जिल्ला तनहुँ पुगेका नेता पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालका कारण समस्या भएकोले एमाले अध्यक्ष ओलीसँग मिलेर एमसीसीमा सफल हुने भन्ने अवस्था अहिले आएको बताए।
‘हामी माधव नेपाल र प्रचण्ड लिएर पास गर्ने कि केपी ओलीलाई ठाउँ दिएर गर्ने दोधारमा परेका छौं’ पौडेलले भने ‘सत्तामा रहेर उहाँहरु विपक्षमा जानु भयो भनि हामी वाध्य भएर ओलीसँग मिल्नुपर्ने निर्णय गर्न वाध्य बनाउँदै हुनुहुन्छ।’
एमसीसी पास नगर्ने भएपछि गठबन्धनमा कसरी रहने भन्दै पौडेलले प्रश्न गरे ‘कांग्रेस त पास गर्न चाहान्छ, तपाईहरु कसरी टाँसिएर बस्नुहुन्छ?’
ओलीले प्रधानमन्त्री हुँदा एमसीसी संसदमा लगेर पास गर्ने भनेर पेस गरेकाले उनी भाग्न नमिल्ने उनले बताए।
‘उहाँकै कार्यकालमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली वासिङटन गएर प्रतिवद्धता गरेर आउनु भएको हो। तर तपाईंहरुले भाग्न मिल्दैन भनेर हामीले एमालेलाई भन्दै आएको हो’ उनले भने ‘उहाँले एमसीसीमा सहयोग गर्छु भन्नु भएको छ। संसदमा एमसीसीमा बोल्न ठाउँ भएन। मैले एमसीसीसहित अन्य विषयमा प्रवेश गर्ने अवसर नै पाएको छैन भन्नु भएको छ।’
एमालेले कारबाही गरेको १४ जनालाई निकाल्न पठाएको सूचना दबाएर संसद चलाइएकोले त्यसलाई अघि बढाउन भेटमा एमालले आग्रह गरेको भन्दै उनले वाध्य भएर यो निर्णय गर्नुपर्ने अवस्था आउन लागेको उनले बताए।
‘पहिला सभामुख हटाउ अनि १४ जना हटाउँ म उभिएर सर्मथन गर्छु भनेर केपी ओलीले भनेका छन् ’ उनले भने ‘मलाई ठाउँमात्र दिनुस भनेका छन्। हामी माधव नेपाल र प्रचण्ड लिएर पास गर्ने कि केपी ओलीलाई ठाउँ दिएर गर्ने भन्ने ठाउँमा पुगेका छौं।’
अब हामीले कसलाई रोज्ने निर्णय गर्न पर्यो भनेर आफूले केही दिन अघि माधव नेपाल र पुष्पकमल दाहाललाई भनेको उनले बताए। ‘मैले दुवै नेताहरुलाई यो कुरा भनेको छु ’ उनले भने ‘ एमसीसी फेल गर्न हुँदैन भन्ने नेपाली कांग्रेसको धारणा हो। यसलाई विफल पार्ने हो भने सफल पार्न केपी ओलीको माग पूरा गर्न वाध्य हुनुपर्छ। यस्तो हुन वाध्य नपार भन्ने हाम्रो कुरा हो। ’
एमसीसी अमेरिकी जनताको उपहार भएको भन्दै उनले नेपालको विकासमा यो आएकाले यसलाई फिर्ता पठाउन नहुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।