काठमाडौं– प्रहरीसँगको 'मुठभेड'मा बारामा १ जना 'गाँजा तस्कर'को मृत्यु भएको छ। बुधबार राति गाँजा तस्करी नियन्त्रणका लागि खटिएको प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको हो।
बुधबार राति ७/८ जनाको समूहमा ५ पाकेटमा ७५ किलो गाँजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा गएको थियो। गस्तीका क्रममा सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी तस्करले एक राउन्ड गोली चलाएको र आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागि नाम नखुलेका एक गाजा तस्करको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
मृत्यु हुनेमा भारतीय नागरिक रहेका जनाइएको छ। कम्मरमा गोली लागेर घाइते भएका उनलाई उपचारका लागि कलैया अस्पताल ल्याइएकोमा उपचारका क्रममा राति १ बजेर ३० मिनेटमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए।
प्रहरीको जवाफी फायरपछि गाँजा छाडेर भाग्दै गर्दा एक जना भारतीयलाई प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको थापाले जानकारी दिए।
पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्रा निवासी ४० वर्षीय हृदेश गिरी छन्। गोली लागेर मृत्यु भएकाको शव भने प्रादेशिक अस्पतालमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।