काठमाडौं– वीर अस्पतालले नयाँ सर्जिकल भवनमा ननकोभिड बिरामीका लागि आईसीयू तथा एचडीयू सेवा थप गरेको छ। सर्जिकल भवनमा १८ वटा आईसीयू र ११ वटा एचडीयूसहित २९ बेड सहितको सेवा थप गरेको वीर अस्पतालका प्रमुख डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
नयाँ भवनमा ननकोभिड बिरामीका लागि ५० वटासम्म आईसीयू सञ्चालन गर्न सक्ने प्रविधि रहेपनि हाललाई १८ वटा आईसीयू मात्र सञ्चालन गरिएको जानकारी दिए। सर्जिकल भवनमा थप गरिएको २९ वटा आईसीयू र एचडीयू मध्ये २० वटा पोष्टअप बेडहरु रहेको डा बस्नेतको भनाइ छ।
वीर अस्पतालमा यसअघि ३५ वटा आईसीयू बेड पुरानो भवनमा सञ्चालनमा रहेको छ। आईसीयू आवश्यकता पर्ने गम्भीर प्रकृतिका बिरामीका लागि अस्पतालहरुमा अझैपनि अभावकै अवस्था रहेको डा बस्नेत बताउँछन्।बिरामीको चाप बढी भएकाले सेवालाई विस्तार गर्न आईसीयू र एचडीयू सहितको २९ वटा बेड थप गरिएको बस्नेतले बताए। तर आईसीयू बेड सञ्चालनका लागि नर्सिङ जनशक्तिको भने अभाव रहेको उनले जानकारी दिए।
‘सर्जिकल भवनमा ५० बेड कै आईसीयू सञ्चालन गर्न सक्ने क्षमता र प्रविधि छ, तर नर्सिङ जनशक्तिको अभाव छ,’ डा बस्नेतले भने, ‘सरकारले लोकसेवा मार्फत नर्सिङ जनशक्ति बढाउने हो भने त हामीले चलाउन सक्छौं। ’प्रतिबेड एकजना नर्स राख्न पनि एक दिनमा ४ जना नर्स आवश्यक पर्ने डा बस्नेतको भनाइ छ।
वीर अस्पतालमा थप गरिएको एचडीयू सहितको २९ बेड आईसीयू र यसअघि भएको ३५ वेडको आईसीयू सहित ननकोभिड बिरामीका लागि मात्र ६४ बेड पुगेको छ। यी आईसीयू सञ्चालनका लागि मात्र प्रतिबेड एकजना नर्स चार सिफ्टको आधारमा हिसाब गर्दा २५६ जना आवश्यक पर्छ। तर वीर अस्पतालमा सरकारी सेवा अन्तर्गतका नर्सिङ जनशक्तिको दरबन्दी पर्याप्त नभएको बस्नेतको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।