प्रतीकात्मक तस्बिर
काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी पार्किङ गर्ने सवारी साधनमाथि कारबाही अभियान थालेको छ। ललितपुरको पाटन क्षेत्रबाट जथाभावी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधनलाई हटाउन स्वीप अपरेशन चलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए।
सडक तथा फुटपाथ अतिक्रमण गरी अनाधिकृतरूपमा पार्किङ गर्ने जुनसुकै प्रकारका सवारी साधनलाई कारबाहीको दायरामा ल्याउन उक्त अभियान चलाइएको कार्यालयले जनाएको छ। यसले आम सडक प्रयोगकर्तालाई सडक तथा फुटपाथको निर्वाध प्रयोग गर्न र सवारी आवागमनमा समेत सहजता ल्याउने विश्वास लिइएको छ।
महाशाखाले अभियानको पहिलो दिन मंगलबार ललितपुरमा ३७ सवारी साधनलाई कारबाही गरेको छ। ट्राफिक प्रहरीले आवागमनमा असर पर्ने गरी पार्किङ नगर्नसमेत सचेत गराएको छ।
यता बौद्ध क्षेत्रमा गरिएको स्वीप अपरेशनमा १०० सवारी साधनलाई कारबाही गरिएको छ भने आसपासका अन्य सडकमा पार्किङ व्यवस्थापनसमेत गरिएको महाशाखाले जनाएको छ। कोरिडोर सडकमा हुने सवारी तथा पार्किङ व्यवस्थापन गर्न ट्राफिक महाशाखाले हालसालै डल्लु र मैतीदेवीमा नयाँ ट्राफिक पोष्टसमेत स्थापना गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।