काठमाडौं– प्रतिनिधि सभाको १०औं अधिवेशनअन्तर्गतको सातौं बैठक आज (बिहीबार) बस्दैछ। आज दिउँसो १ बजे बस्ने बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावबारे छलफल प्रारम्भ हुने भएको छ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्तावमा सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए।
त्यसैगरी बैठकको कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचीसमेत रहेको छ।
संसद् सचिवालयमा दर्ता भएको करिब साढे २ वर्षपछि एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव गत आइतबार मात्र संसदमा टेबल गरिएको छ।
यसैबीच, अर्थमन्त्री जनार्दन शर्मा पर्वत पुगेका छन्। पर्वत उद्योग वाणिज्य संघको बिहीबार हुने साधरणसभामा सहभागी हुन भन्दै उनी बुधबार नै पर्वतको कुश्मा पुगेका हुन्।
अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको अनुदान सहायता सम्झौतामाथि छलफल गर्ने गरी प्रतिनिधि सभाको बैठक बस्ने दिन मन्त्री शर्मा पर्वतमा हुनेछन्। यसअघि आइतबारको बैठकमा एमसीसी
सम्झौता टेबल गर्दा पनि मन्त्री शर्मा अनुपस्थित भएका थिए। आफ्नो मन्त्रालयसँग सम्बन्धित विषय भएपनि मन्त्री शर्माले सम्झौता टेबल गरेनन्।
एमसीसीका विषयमा दलहरुबीच एक मत बन्न सकेको छैन। नेपाली कांग्रेसले आफ्ना सांसदलाई बैठक अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ। लामो समयदेखि संसद् अवरुद्ध गरेको नेकपा एमाले भने
अवरोध कायमै राख्ने निर्णयमा अडिक रहेको एक सांसदले बताए।
माओवादी केन्द्रभित्र विवाद कायम रहेको छ। गतसाता सम्पन्न संसदीय दलको बैठकले विपक्षमा अधिने निर्णय गरेको थियो।
एकीकृत समाजवादीभित्र पनि एमसीसीलाई लिएर विवाद भएको छ। केन्द्रीय कमिटी बैठकले विपक्षमा रहने निर्णय गरे पनि सरकारमा रहेका मन्त्रीहरु पक्षमा रहेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टीको बुधबार सम्पन्न बैठकले एमसीसीको पक्षमा मत हाल्ने निर्णय गरेकाने थियो। त्यसैगरी जनता समाजवादी पार्टी पनि एमसीसीको पक्षमा रहेको छ।
अन्य संसदमा रहेका साना दलहरुमा नेमकिपा, राजमो विपक्षमा रहेको छ भने राप्रपाले यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।