काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रिको अवसरमा देश विदेशबाट पशुपतिनाथ आउने भक्तजनलाई कुनै पनि कुराको समस्या हुन नदिन निर्देशन दिएका छन्।
पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेएका मन्त्री आलेले बुधबार कोषका पदाधिकारीलाई पशुपतिमा आउने भक्तजनका लागि आवश्यक पर्ने सम्पूर्ण कुरा पूरा गर्न निर्देशन दिएका हुन्। ‘भव्य र सव्यरुपमा महाशिवरात्रि मनाउन सबै लागिपरौं,’ मन्त्री आलले भने, ‘भक्तजनलाई कुनै पनि कुराको समस्या नआओस्।’ महाशिवरात्रिको समयमा पशुपति क्षेत्रलाई बिजुली बत्तीदेखि फूलहरुले सजाएर रङ्गीचङ्गी तथा झकिझकाउन गर्नसमेत उनले निर्देशन दिए।
शिवरात्रि पर्वको समयमा देश विदेशबाट आउने भक्तजनलाई लाइनमा लगाउने, शुद्ध पानी, खानाको व्यवस्थालगायत कुरामा अहोरात्र खटिन र भव्य तथा सभ्यरुपमा सफल पार्नसमेत उनले आग्रह गरे। पशुपतिनाथमा महाशिवरात्रि पर्वमा आउने भक्तजन भोकभोकै रातिदेखि लाइनमा बसेर बिरामी हुने भएकाले उनीहरुलाई उपचारका लागि तत्काल अस्पताल पुर्याउन एम्बुलेन्सको व्यवस्था मिलाउनसमेत मन्त्री आलेले समितिका पदाधिकारीलाई निर्देशन दिए।
यसैगरी मन्त्री आलेले पशुपति क्षेत्रमा पर्खालमा गरिन लागेको भगवानका चित्र निर्माणका कार्य तत्काल सक्नसमेत निर्देशन दिएका छन्।महाशिवरात्रि पर्व यही फागुन १७ गते मङ्गलबार परेको छ। यस वर्ष पशुपति क्षेत्रमा कम्तीमा पनि १० लाख दर्शनार्थी मेला भर्न तथा दर्शन गर्न आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
पर्वलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कोषका अध्यक्ष आलेको अध्यक्षतामा मूल समारोह समिति र विभिन्न १० उपसमिति गठन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।