काठमाडौं– सहकारीमार्फत् ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३० का ४२ वर्षीय सुरज बस्नेत र काठमाडौं महानगरपालिका–१६ पकनाजोलका ५७ वर्षीय शिव पाण्डे रहेका छन्। उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनामनगर र पकनाजोलबाट पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये बस्नेत भरोसा नेपाल वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक समितिका अध्यक्ष र पाण्डे उपाध्यक्ष रहेका सीआईबीले जनाएको छ। बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।
पुरानो बानेश्वरमा रहेको भरोसा बहुउद्देश्यीय सहकारीमा बचतकर्ताले राखेको रकम हिनामिना गरेको, सहकारी संस्थाको खातामा नराखी आफ्नै परिवारका सदस्य र आफन्तका नाममा राखेर १५ जना निक्षेपकर्ताहरुको ६, करोड २५ लाख रकम दुरुपयोग गरेको प्रहरीले जनाएको छ।
बचतर्ताले भुक्तानी फिर्ता माग्दा उनीहरूले सहकारी संस्थामा ताला लगाई फरार भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए। पीडितको उजुरीपछि खोजतलासमा जुटेको प्रहरीले उनीहरूलाई फागुन ४ गते पक्राउ गरेको हो। पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी कारबाही भइरहेको सीआईबीले जनाएको छ।
साथै, अन्य बचतकर्ताहरूले उक्त सहकारीबाट निक्षेप तथा ब्याज रकम नपाई कानुनी कारबाही गर्नु पर्ने भएमा सम्पर्क गर्न सीआईबीले अनुरोध समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।