फाइल तस्बिर
फुङ्लिङ– ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन घट्दै गएको छ। कञ्चनजंघा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक विस्तारै बढ्दा कोभिडले असर गरेको थियो।
कोभिड–१९ महामारी सुरु भएपछि पछिल्लो दुई वर्ष कञ्चनजंघा क्षेत्र सुनसानजस्तै बनेको छ। यो समयमा थोरै पर्यटकले कञ्चनजंघाको भ्रमण गरेका छन्। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्काअनुसार महामारी सुरु भएको वर्ष अर्थात आर्थिक वर्ष २०७७/७८ मा ४३ जनाले सो क्षेत्रको भ्रमण गरेका छन्।
चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्ममा करिब डेढ सय पर्यटकले कञ्चनजंघा क्षेत्रको भ्रमण गरेका छन्। चालु आवको पहिलो सिजन (मौसम) मा कूल १४१ पर्यटकले कञ्चनजंघाको भ्रमण गरेका परिषद् कार्यालयले जनाएको छ।
दुई वर्षसम्म सुनसानजस्तै बनेको कञ्चनजंघा क्षेत्र चालु आवमा महामारीको प्रभाव केही कम बनेपछि सीमित संख्यामा पर्यटकको आगमन भएको हो। यस वर्षको पहिलो पर्यटकीय मौसम असोज र कात्तिक महिनामा अमेरिका, फ्रान्स, ताइवानलगायतबाट पर्यटक भ्रमणमा आएका कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाले जानकारी दिए।
कोरोना महामारी सुरु भएको अघिल्लो वर्षसम्म पछिल्लो दशकको अवधिमा पाँच हजार ४२७ पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्यांघ रहेको छ। तथ्यांकअनुसार उक्त अवधिभित्र सबैभन्दा बढी आर्थिक वर्ष २०७५÷७६ मा ८०६ जना पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।