काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले आन्दोलनकारीले तोडफोड गरेको बुद्धनगरस्थित जानकी श्रेष्ठको बुटिकको क्षति सरकारले हेर्ने बताएका छन्। श्रेष्ठलाई मंगलबार साँझ टेलिफोन गरी गृहमन्त्री खाणले साथमा सरकार रहेकाले नआत्तिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ।
यसअघि मंगलबार दिउँसो काठमाडौंका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख पुगेर पसलको स्थलगत निरीक्षण गरेका थिए। आइतबार एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेशन) सम्झौता संसद्मा टेबुल भएपछि प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले प्रहरी उक्त बुटिकमा पसेको भन्दै तोड्फोड गरेका थिए।
स्थानीय प्रशासन नै आएर निरीक्षण गरेपछि थोरै भए पनि राहत महसुस भएको श्रेष्ठले बताएकी छन्। अझै पनि आन्दोलनकारीले आफूलाई ‘टर्चर’ दिने गरेको उनले बताइन। सो अवसरमा काठमाडौंका प्रजिअ गोविन्दप्रसाद रिजालले ज्यान जोखिममा राखेर प्रहरी जोगाएकामा धन्यवाद दिएका थिए। पसलको क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा प्रस्ताव पेश गर्ने प्रजिअ रिजालले आश्वासन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।