काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका नेताहरुबीचको भेटवार्ता सकिएको छ।
मंगलबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए। ओलीसँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल पनि भेटवार्तामा सहभागी भएका थिए।
प्रधानमन्त्री देउवा र एमाले नेताहरुबीच करिब २ घण्टाबीच छलफल चलेको थियो। प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार नेताहरुबीच अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विषयमा कुराकानी भएको हो।
भेटमा प्रधानमन्त्री देउवासहित नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्का पनि सहभागी थिए।
प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार जानु अघि एमाले अध्यक्ष ओलीले अमेरिकी राजदूत र्याण्डी बेरीसँग भेटवार्ता गरेका थिए। अमेरिकी राजदूत बेरीले बालकोटमै पुगेर ओलीसँग भेट गरेका थिए।
एमाले नेता विष्णु रिजालका अनुसार प्रधानमन्त्री देउवाले गठबन्धन भित्रैबाट आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधि सभामा प्रस्तुत भएको एमसीसी सम्झौता अनुमोदनमा सहयोगका लागि आग्रह गरेका थिए।
जवाफमा ओलीले आफ्नो पार्टीले विगत ६ महिनादेखि 'जायज मागहरु' राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा स्पष्ट पारेका रिजालले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।