काठमाडौं– उच्च अदालत पाटनले ५१ लाख रुपैयाँ जरिवाना ठहर गरेका बैंकिङ कसुरका फरार अभियुक्तलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उच्च अदालत पाटनको विसं २०७८ मङ्सिर ७ को फैसलाअनुसार १५ दिन कैद र बिगोबमोजिम ५१ लाख रुपैयाँ जरिवाना ठहर गरेपछि फरार रहेका नुवाकोट लिखुका ३७ वर्षीय विनोद थापालाई आइतबार पक्राउ गरेको हो।
ब्युरोका उपनिर्देशक, प्रहरी उपरीक्षक कमल थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारेर बैंक अफ काठमाण्डू गोंगबु शाखाको चेक दिएर बैंकिङ कसुर गरेकाले थापालाई काठमाडौंको फुटुङबाट पक्राउ गरिएको जानकारी दिए।
पक्राउ थापालाई फैसला कार्यान्वयनका लागि सोमबार जिल्ला अदालत ललितपुर पेस गरिएको प्रहरी उपरीक्षक थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।