काठमाडौं- सिन्धुपाल्चोकमा जारी नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकमा सभापतिमा विजयी इन्द्र बानियाँ र पराजित जगदीश्वर नरसिंह केसीबीच भनाभन भएको छ।
बैठकमा दुई नेता आरोप प्रत्यारोपमा उत्रेका हुन्। विवाद भएपछि केसीले बैठक छोडेर निस्किएका छन्। बैठकमा सहभागी एक प्रदेश सदस्यका अनुसार केसीले वरियताको कुरा उठाएका थिए।
‘वरियता टुंग्याउन उहाँ (केसी)ले माग गर्नुभएको थियो। कार्यसम्पादन समिति गठन हुन नसकेकोमा सभापतिको कार्यशैलीमा प्रश्न उठाउनु भयो,’ ती सदस्यले भने,‘त्यसपछि दुई नेताबीचमा भनाभन भयो।’
उनका अनुसार पराजित नेतालाई दोस्रो वरियता निर्धारण हुनुपर्ने केसीको माग रहेको थियो। सभापति बानियाँको कार्यशैलीमा प्रश्न उठाउँदै गत साता केसीले सामाजिक सञ्जालमा असन्तुष्टि राखेका थिए।
पार्टीको आन्तरिक विषय सामाजिक सञ्जालमा छरपष्ट पारेको भन्दै केसीसँग बानियाँ रुष्ट भएका थिए। विधानले निर्दिष्ट गरेका कार्यहरू समयअनुसार नभएको र प्रदेशमा पार्टी गतिहीन भएको उल्लेख गर्दै स्थानीय निर्वाचन ‘फेस गर्न’ कठिन हुने लेखेका थिए।
बानियाँ केन्द्रीय सभापति शेरबहादुर देउवा निकट हुन्। केसी संस्थापनइतरका हुन्। प्रदेश कार्यसमिति बैठक भोलि पनि जारी रहने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।