काठमाडौं– नेपाली फिल्मले सिनेमा हलमा जस्तो सुकै व्यापार गरोस्, जब युट्युबमा रिलिज हुन्छ फिल्मलाई दर्शकको साथ मिल्छ। युट्युबमा रिलिज हुनसाथ नेपाली फिल्म युट्युबको ट्रेण्डिङमा पर्छन्। यसरी नै हाल पनि दुई नेपाली फिल्म युट्युबको ट्रेण्डिङमा परेका छन्। ९ दिनअघि सार्वजनिक भएको ‘डमरुको डण्डिबियो’ र १० दिनअघि सार्वजनिक भएको ‘हिम्मत’ अहिले युट्युबमा ट्रेण्ड गरिरहेका छन्।
१० दिनअघि युट्युबमा रिलिज भएर हाल १३ औं नम्बरमा ट्रेण्ड गरिरहेको नेपाली फिल्म ‘हिम्मत’ रेखा थापाले निर्माण गरेको फिल्म हो। फिल्म ओएसआर मुभिजको युट्युब च्यानलमार्फत रिलिज भएको छ। फिल्ममा अभिनेत्री रेखासँगै विराज भट्ट र रमित ढुंगाना मुख्य भूमिकामा छन्।
सन् २००८ मा सिनेमा हलमा प्रदर्शनमा आएको यो फिल्मलाई दीप श्रेष्ठले निर्देशन गरेका छन्। फिल्ममा रेखा, विराज र रमितसँगै केशव भट्टराई, हेमन्त बुढाथोकी, श्रीकृष्ण लुइँटेललगायतका कलाकारको अभिनय रहेको छ। फिल्मको कथा लेखन छवी ओझाले गरेका छन् भने पटकथा र संवाद विकास राज आचार्यको रहेको छ।
त्यस्तै, ‘डमरुको डण्डिबियो’ युट्युबमा ५ औं नम्बरमा ट्रेण्ड भइरहेको छ। फिल्ममा खगेन्द्र लामिछाने, मेनुका प्रधान, अनुप बराल, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ। खेलकुद विधामा रहेको यो फिल्ममा डण्डिबियो खेल्ने खेलाडीको कथालाई प्रस्तुत गरिएको छ।
छेतन गुरुङको निर्देशनमा बनेको फिल्मलाई खगेन्द्र लामिछानेले लेखेका हुन्। यो फिल्म तीन वर्षअघि २०७५ वैशाखमा सिनेमा हलमा प्रदर्शन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।