काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फागुन १२ गते बस्ने प्रतिनिधि सभाको बैठकमा पनि अवरोध जारी राख्ने भएको छ।
आइतबारको संसद् बैठकपछि बाहिरिने क्रममा एमाले प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुको बेल घेराउ र नारावाजी कायमै रहने बताएका हुन्।
‘एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्ने प्रक्रियामा एमाले सहभागी हुँदैन,’ उनले भने, ‘हाम्रो माग सम्बोधन भएको छैन। संसदीय काम कारवाहीमा सहभागी हुने वातावरण नै बनाइएको छैन।’
सभामुखकै अन्याय/अत्याचारका कारणले एमाले संसदीय काम कारबाहीमा विमुख भएर बसेको भन्दै भट्टराईले आफूहरु तत्काल कुनै पनि संसदीय कारवाहीमा सहभागी नहुने बताए।
‘सडकमा ठूलो द्वन्द्व सिर्जना गरेर विलम्ब गरेर ल्याइयो। सरकारमा पनि बस्ने, संसद्मा पनि नारावाजी पनि गरिरहने। सडकमा एउटा, अमेरिकासँग एउटा कार्यकर्तामाझ एउटा गर्ने काम भएको छ,’ उनले भने, ‘हामी कुनै पनि प्रक्रियामा सामेल हुँदैनौं। सडकमा जसरी हिंसा मच्चाउन खोजिएको छ यसको विरोध गर्न चाहन्छौं। गठबन्धनको तर्फबाट हिंसा भड्काउने जुन काम भएको छ यसको विरोध गर्न चाहन्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।