काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले २०६३ सालमा शान्ति सम्झौतामा हस्ताक्षर भएपछि बनेका मधेसी पार्टीहरू विदेशी शक्तिले बनाइदिएको बताएका छन्।
बिहीबार रुपन्देहीको सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ सुक्ला, वडा अध्यक्ष श्रवणकुमार यादव लगायतका जनप्रतिनिधि र राजनीतिक कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले मधेसलाई माओवादीमय बन्नबाट रोक्न ती पार्टी गठन गरिएको बताए।
शान्ति सम्झौतामा हस्ताक्षर गर्दैगर्दा मधेस सबैभन्दा बढी माओवादीमय हुन थालेको उनको भनाइ छ। 'मधेस माओवादी भयो भने नेपालै माओवादी भयो, माओवादी र उसको विजय यात्रालाई कसैले रोक्नै सक्दैन भन्ने ठानेर नै निकै ठूलो षडयन्त्र अन्तर्गत केही ठाउँमा भयानक हत्याकाण्डहरु मच्चाइयो। रुपन्देही र कपिलवस्तुमा पनि त्यस्ता खालका घटना भए', उनले भने, 'राजनीतिक रुपले यति ठूलो भ्रम छरियो कि माओवादीले केही पनि गर्दैन, मधेसीको निम्ति मधेसी पार्टी नै चाहिन्छ भनेर विदेशी शक्तिहरुले बनाइदिए त्यस्ता पार्टी।'
अर्कैको डिजाइनमा मधेसी पार्टीहरु बनेको र 'मधेसको मसिहा भनेको हामी नै हो, हामीले मात्रै मधेसको मुक्ति गर्न सक्छौं' भनिएको प्रचण्डको भनाइ छ।
'तर जसले त्यसो भने, अहिले त व्यवहारमा देखियो नि। त्यसो भन्ने पार्टी र नेताहरु अन्ततः संघीयता विरोधी, गणतन्त्र विरोधी, पहिचान र अधिकार विरोधी तत्वसँग साँठगाँठ गर्न पुगे नि। केपी ओलीसँग साँठगाँठ गर्न गएको त देख्नुभयो नि', उनले भने।
प्रचण्डले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नुमा, मजदुर किसानदेखि मधेसी, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम सबैको पहिचान र अधिकार स्थापना गर्ने लडाइँमा माओवादी आन्दोलन र माओवादी नेतृत्वको निर्णायक भूमिका रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।