काठमाडौं– सत्तारुढ पाँच दलले कास्कीमा चुनावी तालमेल गर्ने निर्णय गरेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने भएका हुन्।
सत्ता नेतृत्वकर्ता कांग्रेसले बोलाएको बैठकले वडा तहसम्मै चुनावी गठबन्धन गर्ने समझदारी गरेको हो। सत्ताघटक दलले ७२ वटै वडामा मिलेर उम्मेदवारी दिने निर्णय गरेका छन्। ‘पाँच दलबीच एक प्रकारको समझदारी बनेको छ। सहकार्य टुट्दैन,’ एकीकृत समाजवादीका कास्की अध्यक्ष धनराज आचार्यले नेपाल लाइभसँग भने, ‘केन्द्रको निर्णय पनि कुर्छौं। तालमेलको जिम्मा जिल्लालाई नै दिने निर्देशन आयो भने हामी तयार भएको सन्देश दिन पनि खोजेका हौं।’
बैशाख ३० मा स्थानीय तहको निर्वाचन घोषणा भएकाले गठबन्धनका दलका छलफलले तिव्रता पाएको छ। बिहीबार एकीकृत समाजवादीले गठबन्धनको बैठक बोलाएको आचार्यले जानकारी दिए।
बैठकमा कास्की कांग्रेस सभापति किशोरदत्त बराल, माओवादी केन्द्रका जिल्ला अध्यक्ष बखानसिंह गुरुङ, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष आचार्य, जनता समाजवादी पार्टी अध्यक्ष गिरिप्रसाद गुरुङ र राष्ट्रिय जनमोर्चा कास्की अध्यक्ष रविमोहन ढकाल सहभागी थिए।
कास्कीमा गठबन्धनका पाँच दलमा तुलनात्मक रुपमा कांग्रेस बलियो छ। पाँच दलको सहकार्य भएसँगै प्रमुख प्रतिपक्ष दल एमालेलाई चुनौती थपिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।