काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
कांग्रेसमा संस्थापन इतर पक्षको 'नेतृत्व' गरिरहेका नेता कोइराला संसद्को प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई भेट्न उनको निजी निवास बालकोट पुगेका हुन्।
भेटमा समसामयीक राजनीतिक विषयमा छलफल भएको कोइराला निकट स्रोतले जनाइएको छ।
दुई नेताबीच आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रम (अमेरिकी आर्थिक सहायता 'एमसीसी' सम्झौता)का बारेमा छलफल भएको बताइएको छ ।
पछिल्लो समय अमेरिकी आर्थिक सहयोग (एमसीसी) सम्झौताको विषयलाई लिएर राजनीतिक दलहरुबीच भेटवार्ता बाक्लिएको छ।
एमसीसीकै विषयमा छलफल गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २ दिन अगाडि ओलीलाई सरकारी निवास बालुवाटार बोलाएका थिए।
आइतबार प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच बालुवाटारमा छलफल भएको थियो।
उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी सम्झौताका सन्दर्भमा चुनावपछि मात्रै संसदीय प्रक्रिया अगाडि बढाउने प्रस्ताव राखेका थिए।
एमाले अध्यक्ष ओलीले भने एमसीसीका विषयमा पहिले सत्ता पक्षमा एकमत हुनुपर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।