संसद् बैठकमा एमालेको अवरोध, फाइल तस्बिर
काठमाडौं– नेकपा एमालेले बुधबारको प्रतिनिधि सभामा पनि अवरोध गर्ने भएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुको अवरोध जारी रहने बताए।
'हाम्रो माग र मुद्दा यथावत् छन्', नेपाल लाइभसँग कुरा गर्दै भट्टराईले भने, 'ती पूरा नहुञ्जेल हाम्रो विरोधको कार्यक्रम परिवर्तन हुँदैन।'
आफूले कारबाही गरेर निष्कासित गरेका १४ सांसद सम्मिलित भएर नेकपा एमाले विभाजन गरेको र सभामुख अग्निप्रसाद सापकोटा सहयोगी भएको भन्दै नेकपा एमालेले गत भदौदेखि प्रतिनिधि सभामा अवरोध गरिरहेको छ। राष्ट्रिय सभामा पनि उसले विरोध जारी राखेको छ।
अघिल्लो अधिवेशनभर अवरोध गरेको एमालेले पछिल्लो अधिवेशनमा पनि आफ्नो अवरोध जारी नै राखेको छ।
यसैबीच, संसद् सचिवालयले भोलिको प्रतिनिधि सभाको सम्भाविक कार्यसूची सार्वजनिक गरेको छ। जसअनुसार, प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/७८ पेश गर्ने र एउटा शोक प्रस्ताव पारित प्रस्तुत हुने कार्यसूची छ।
विवादित बनेको एमसीसीसँगको सम्झौता टेबल गर्ने चर्चा भएता पनि सम्भावित कार्यसूचीमा भने सो विषय समेटिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।