काठमाडौं– पाँचदलीय सत्ता गठबन्धन टुटाउने शर्तमा नेकपा एमालेले एमसीसी पास गराउन सहयोग गर्ने भनेको विषय अहिले चर्चामा छ। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तामा ओलीले शर्त राखेको विषय अहिले गठबन्धनकै नेताहरुबाट सार्वजनिक भइरहेको छ।
तर, नेकपा एमालेले भने यो सबै बाहिरको हल्ला भएको दाबी गर्दै आएको छ। नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले पनि सत्ता गठबन्धनलाई फुटाउनका लागि नेकपा एमालेले एमसीसीको हतियार प्रयोग नगर्ने प्रष्ट पारेका छन्। नेपाल लाइभसँगको कुराकानीमा उपमहासचिव गुरुङले बाहिर सार्वजनिक भइरहेको विषय जस्तो एमालेले कुनै बार्गेनिङ नगरेको बताएका हुन्। ‘हामीलाई त के छ र हामी सरकारमा छैनौं। उनीहरुले डिल गर्ने सरकारसँग हो। यो पास गराउनै पर्छ भन्ने स्थिति हामीसँग छैन। हामी त अहिले हाइसन्चोमा छौं नि यो विषयमा त,’ उनले भने, ‘एमसीसी कुनै बार्गेनिङ टिप्स नै होइन।’
उनले गठबन्धन टुटाउने, या चुनाव चाँडै गराउने, नेपाली कांग्रेस र एमालेको तालमेल गर्ने लगायतका कुनै पनि विषयमा एमसीसीको टिप्स एमालेले प्रयोग नगर्ने बताए। ‘हामीले त एउटै कुरा के भनिरहेका छौं भने तोकिएको समयमा नै निर्वाचन हुनुपर्छ। समयमा चुनाव गर्ने कुरामा केही संकट भयो भने त्यसका लागि के सहयोग गर्नुपर्छ गर्छौं भनेको छौं नि,’ उनले भने, ‘अरु कुरामा त हामीलाई चासो हुने विषय नै रहेन नि।’
उनले संसदको अवरोध कायमै रहने वा नरहने भन्ने कुरा परिस्थिति कसरी अगाडि बढ्छ त्यसले निर्धारण गर्ने बताए। ‘चुनाव गर्ने र संसदको अवरोध भन्ने कुराको त कुनै साइनो नै छैन। यदि त्यसलाई उनीहरुले बार्गेनिङ गर्ने हिसाबले ल्याउँछन भने त त्यति बेला नै हामी उनीहरुसँग कुराकानी गर्छौं नि, ‘उनले भने, ‘गलत काम गर्ने अनि राम्रो काम गर्नाका लागि त्यो गलत भएको कामलाई सट्टाबाजीको विषय बनाउने कुरा भयो भने त त्यो राजनीतिक बेइमानी हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।