काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता भएको छ। ओलीले जानी-जानी कोभिड-१९ संक्रमण फैलाएको भन्दै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो।
संक्रामक रोग ऐन, २०२० अन्तर्गतको कसूर गरेको बताउँदै अभिजित अधिकारी र वीरेन्द्र मडैले हुलाकमार्फत् पठाएको उजुरी सोमबार दर्ता भएको हो।
२०७८ साल माघ १२ गते ओली आफू कोरोना संक्रमित हुँदाहुँदै एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको बालकोटस्थित रक्तदान कार्यक्रममा सहभागी भएर संक्रमण फैलाएको आरोप उनीहरुको छ।
उजुरीमा भनिएको छ, 'यसरी आफू कोरोना संक्रमित भइ जानीजानी सार्वजनिक स्थलमा गइ अन्य व्यक्तिहरुसँग सम्पर्कमा आइ कोरोना संक्रमण फैलाउने कार्य गरी संक्रामक रोग ऐन, २०२० विपरीत कार्य गरेकाले निज ओलीलाई कानुनबमोजिम आवश्यक कारबाही गरीपाएऊँ।'
ओलीको उक्त उपस्थिति र भाषणले समाजमा कोरोना संक्रमण फैलाउनुका साथसाथै आम जनमानसमा कोरोनाको कहर सामान्य रुघा खोकी मात्र भएको भ्रमसमेत सिर्जना हुनसक्ने भएकोले उनलाई कारबाही नभएमा अरु कोरोना संक्रमितहरुले समेत मापदण्डको पालना नगर्ने दाबी गरिएको छ।
त्यसकारण विधिको शासनलाई अनुशरण गर्दै संक्रामक रोग ऐन, २०२० को दफा ३ बमोजिम यथाशीघ्र कारबाही गर्न माग गरिएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।