काठमाडौं- सता गठबन्धनको समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अहिले देखिएका समस्याहरुको निकास नखोज्ने हो भने गठबन्धनको औचित्यमाथि प्रश्न उठ्ने बताएका छन्।
शनिबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा संयोजक पौडेलले राजनीतिक गतिरोध अन्त्य गर्न नसके गठबन्धनको ओचित्यमाथि प्रश्न उठ्ने भएकाले यसको समाधानका लागि गम्भीर हुनु पर्ने बताए।
'आज देशमा संसद चलेको छैन। सर्वोच्च अदालतमा गतिरोध कायमै छ। राष्ट्रिय महत्वका विषयमा गतिरोध कायमै छ। राज्य सञ्चालनमै गतिरोध देखिएको छ। सरकार संसदमा एउटा कानून पास गराउन सक्ने अवस्थामा छैन' बैठकमा पौडेलले भने', ' यस्तो अवस्थामा यो गठबन्धन गम्भीर नहुने हो भने, निकास नखोज्ने हो भने गठबन्धनको औचित्यमाथि पनि प्रश्न उठ्न सक्छ।'
कानुन संशोधन गर्नसमेत सरकारले नसकेको अवस्था रहेको भन्दै उनले यसले गर्दा अहिलेको राज्य व्यवस्थालाई नै असफलतातर्फ लैजाने प्रयासहरु क्रियाशील भैरहेको देखिएको बताए।
यसैबीच सत्ता गठबन्धनले कानुनविद्हरुसँग पुन: परामर्श गर्ने भएको छ। कानुनविद्हरुसँगको परामर्शपछि गठबन्धनको बैठक आजै अपराह्न ४ बजे बस्ने छ। स्थानीय निर्वाचनको मिति तय गर्ने सन्दर्भमा गठबन्धनले कानुनविद्हरुसँग छलफल गर्न लागेको हो। सत्ता गठबन्धनले निर्वाचन सार्न खोजेको भन्दै आलोचना भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनबारे छलफलका लागि बैठक बोलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।