काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा अहिले वाम-लोकतान्त्रिक र दक्षिणपन्थी गरी दुईवटा गठबन्धन रहेको बताएका छन्।
शनिबार पार्टी निकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफूहरुको नेतृत्वमा वाम-लोकतान्त्रिक गठबन्धन र एमालेको नेतृत्वमा दक्षिणपन्थी गठबन्धन रहेको बताएका हुन्।
‘वाम-लोकतान्त्रिक गठबन्धनमा कम्युनिस्ट पार्टीको रुपमा हाम्रो पार्टी, माओवादी, राष्ट्रिय जनमोर्चा र वाम पार्टीको रुपमा रहेको जनता समाजवादी पार्टी छ। लोकतान्त्रिक शक्तिको रुपमा रहेको नेपाली कांग्रेस। यो गणतन्त्रको पक्षमा आन्दोलनमा उत्रिएको थियो। लोकतन्त्रको पक्षमा आन्दोलनमा उत्रिएको थियो। यी पार्टीहरु सहित वाम र लोकतान्त्रिक शक्तिहरु एकतिर उभिएका छन्’, उनले भने।
केपी ओलीको नेतृत्वमा रहेको र दक्षिणपन्थी भासमा भासिँदै गएको नेकपा एमाले र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी र त्यसपछि अरु त्यस्तै खालका शक्तिहरु नजिक पुग्दै गइरहेको उनले बताए। ‘दरबारिया शक्ति राप्रपा पनि त्यतै टाँसिन पुगेको छ’, उनले भने, ‘दक्षिणपन्थी शक्तिहरु एकतिर उभिएका छन्। वाम र लोकतान्त्रिक शक्तिहरु अर्कोतिर उभिएका छन्। यसर्थ नेपालको राजनीतिमा दुइटा गठबन्धन देखापर्यो।‘
राष्ट्रिय सभाको चुनावमा पनि गठबन्धन देखिएको अध्यक्ष नेपालको भनाइ छ। ‘हिजोसम्म एक्लै पार लगाउँछु भनेर उफ्रिनेहरु जब राष्ट्रिय सभाको चुनाव आयो, ठ्याक्क दक्षिणपन्थी शक्तिहरुसँग अंकमाल गर्न पुगे। तर सफल हुन सकेनन्। पराजयको सामना गर्नुपर्यो’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।