काठमाडौं- दक्षिणी अफ्रिकी तीन मुलुकमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ। मुसलधारे वर्षाले गर्दा उष्ण कटिबन्धीय आँधी आना सोमबार मोजाम्बिक र मलावीमा अवतरण हुनु पहिले मदागास्करमा आएको थियो।
तीन देशका उद्धारकर्मी तथा अधिकारीहरूले अझै पनि क्षतिको पूर्ण मूल्यांकन गर्न कठिनाइ भइरहेको बताएका छन्। यो आँधीका कारण मदागास्करले ४१ जनाको मृत्यु भएको जनाएको छ भने १८ जनाको मोजाम्बिक नागरिक रहेका छन्। त्यस्तै आँधीका कारण मलावीमा ११ जनाको मृत्यु भएको छ।
सबैभन्दा बढी प्रभावित तीन देशहरूमा दशौं हजार घरहरू क्षतिग्रस्त भएका छन्। अविरल वर्षाका कारण कतिपय भत्किएर भग्नावशेषमा फसेका छन्।
मेडागास्करमा १ लाखभन्दा बढीले आफ्नो घर छोडेका छन्। राजधानी अन्टानानारिभोका विद्यालय र जिमखनाहरूलाई आपतकालीन आश्रयहरूमा परिणत गरिएको छ। उत्तरी र मध्य मोजाम्बिकमा आनाले १० हजारभन्दा बढी घरहरू, दर्जनौं विद्यालय, अस्पतालहरू र बिजुली लाइनहरूलाई ध्वस्त पारेको छ।
मोजाम्बिकको मौसम विभागले आगामी दिनमा हिन्द महासागरमा अर्को आँधी आउने अनुमान गरेको छ। मार्चमा वर्षाको मौसम समाप्त हुनु अघि छवटा उष्ण कटिबन्धीय आँधी आउने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।