काठमाडौं– नेपाली कांग्रेसका ३ नेताहरु, उपसभापति पूर्ण बहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई कार्यसम्पादन समिति छिटो गठन गर्न सुझाव दिएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा ३ नेताले पार्टीको महत्वपूर्ण समितिका रूपमा रहेको कार्य सम्पादन समिति जतिसक्दो छिटो गठन गर्न सुझाव दिएका हुन्।
कार्यसम्पादन समितिमा सबै पदाधिकारी सहित ३१ जना थप केन्द्रीय सदस्य हुने विधानको व्यवस्था छ। सभापतिले समावेशी सिद्धान्तको आधारमा ३१ जना सदस्य मनोनित गर्ने व्यवस्था छ। सभापतिले मनोनित गरेका व्यक्तिलाई केन्द्रीय समितिले अनुमोदन गर्नुपर्छ।
विधानअनुसार कार्यसम्पादन समिति गठन हुँदा ४५ जनाको हुनेछ। १४ पदाधिकारी, ३१ केन्द्रीय सदस्य र पार्टी प्रवक्ता गरी ४५ जनाको केन्द्रीय कार्य सम्पादन समिति बन्ने प्रावधान छ। कोषाध्यक्ष र पार्टी प्रवक्ता भने मनोनित भइसकेका छैनन्।
कार्य सम्पादन समितिको बैठक प्रत्येक महिनामा एक पटक बस्नुपर्ने विधानको व्यवस्था छ। पार्टी सञ्चालनको लागि प्रमुख समिति रहेकाले उक्त समिति गठन गर्न नेता त्रयले देउवालाई सुझाएका हुन्।
कोरोना संक्रमणको जोखिम कायमै रहेको तथा पछिल्लो समय झन् बढ्दो क्रममा रहेकाले केन्द्रीय समितिका सबै सदस्यको भौतिक उपस्थितिमा बैठक बस्न असम्भव रहेको कांग्रेसका नेताहरुको भनाइ छ। यस्तो अवस्थामा पार्टीका महत्वपूर्ण निर्णयहरु गर्नका लागि कार्यसम्पादन समिति गठन अपरिहार्य रहेको भन्दै नेताहरुले सभापति देउवाको ध्यानाकर्षण गराएका हुन्।
१४औं महाधिवेशनबाट निर्वाचित र त्यसपछि दुई चरण गरी भएको मनोनितसहित कांग्रेसका केन्द्रीय सदस्यहरुको संख्या १४८ पुगेको छ। विधानत: कांग्रेस केन्द्रीय समितिको बैठक २ महिनामा एकपटक बस्नु पर्दछ।
केन्द्रीय समिति बैठक बस्न नसक्ने अवस्थमा निर्णय गर्ने अधिकार कार्यसम्पादन समितिलाई हुन्छ। कार्यसम्पादन समितिले गरेका निर्णयको अनुमोदन भने केन्द्रीय समितिबाट हुनुपर्छ।
उक्त समितिलाई पार्टीका विभागका कार्यको समीक्षा गर्ने क्षेत्राधिकार समेत हुन्। गत निर्वाचनमा उक्त समितिले टिकट वितरणको अधिकार समेत प्रयोग गरेको थियो। टिकट वितरण पारदर्शी नभएको आवाज उठेपछि निर्वाचनपश्चात उक्त समिति भङ्ग गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।