काठमाडौं– पूर्वी भारतको बिहार प्रदेशमा प्रदर्शनकारीले रेलमा आगो लगाएका छन्। बुधबार रेल सेवाका लागि लिइएको परीक्षमा अनियमितता भएको भन्दै प्रदर्शनमा उत्रिएको आक्रोशित भीडले रेलमा आगजनी गरेको हो। आगजनीपछि प्रहरीले भीडलाई अश्रु ग्यास र लाठी चार्ज गरी नियन्त्रणमा लिनुपरेको समाचारहरुमा उल्लेख छ।
सरकारद्वारा सञ्चालित रेल क्षेत्रका लागि प्रवेश परीक्षा अनुचित तरिकाले सञ्चालन भइरहेको छ भन्ने युवा जागिर आवेदकहरूको दाबीमाथि बिहार राज्यमा हप्ताको सुरुदेखि नै विरोध भइरहेको थियो।
सोमबारको दिन सानो परिमाणमा विरोध प्रदर्शन सुरु भए तापनि प्रहरी र प्रदर्शनकारीबीच तनाब बढ्दै जाँदा ठूलो भीड जम्मा भएको थियो।
भीडले रेलका गाडीहरूमा ढुंगा हान्ने, रेल मार्ग अवरुद्ध गर्ने र प्रधानमन्त्री नरेन्द्र मोदीका पुत्ला जलाउनेजस्ता कार्यसमेत गरेको समाचारमा उल्लेख छ।
प्रदर्शनमा सहभागी भएको आरोपमा एक दर्जनभन्दा बढीलाई पक्राउ गरिएको छ। बिहार र छिमेकी उत्तर प्रदेशका रेलवे स्टेशनहरूमा प्रदर्शन भएको छ।
प्रहरीले व्यापक दमन गरेको भन्दै आलोचना गरिएको छ। सामाजिक सञ्जालहरूमार्फत् सार्वजनिक दृष्यहरूमा प्रहरीहरू शंकास्पद प्रदर्शनकारीको घरमा घुसेको र उनीहरुलाई लठ्ठीले हिर्काएको देखाइएको छ।
स्थानीय सञ्चार माध्यमका अनुसार हालको रेलवे सेवामा रोजगारीका लागि लिइएको परीक्षामा ३५ हजार खाली स्थानका लागि १० लाखभन्दा बढीले आवेदन दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।