सिओल- लोक-रक ब्यान्ड नेपथ्यले दक्षिण कोरियाको राजधानीमा रहेको सिओल ओलम्पिक पार्कस्थित ओलम्पिक हलमा बुधबार प्रस्तुति दिएको छ।
अन्तर्राष्ट्रिय स्तरमा चर्चित ‘डिप पर्पल’, ‘जुडास प्रिस्ट’, ‘मारिया क्यारे’ जस्ता सांगीतिक नामले प्रस्तुति दिइसकेको हलमा नेपथ्यले कोरियाको विशेष पर्व ‘छुसक' को अवसर पारेर कन्सर्ट गरेको हो ।
४० हजारभन्दा बढी नेपाली कामदार कार्यरत देशको राजधानीमा कास्की परिवारले आयोजना गरेको कन्सर्टमा ब्यान्डका मुख्य गायक अमृत गुरुङले गायन सुरु गर्नुअघि देशमा रोजगारी नपाएर विदेश आउनुपर्ने बाध्यताको चर्चा गरे । साथै सुझाए- 'जे-जस्तो भए पनि यहाँ रहँदाको क्षणलाई अवसरका रुपमा लिइदिनुस् र सकेसम्म आफूमा स्वदेशका निम्ति कामलाग्ने सीप विकास गर्नुस् ।' यसपछि उनले आप्रवासी कामदारकै पीडा समेटिएको मार्मिक गीत प्रस्तुत गरे-
‘मै मरी जाउँला, जीवन छोटो छ
लेखेको सम्झना, चेतेर नफाल
सिरानमा फोटो छ...’

सिओलको मञ्चमा पाँचौं पटक उभिएको नेपथ्यले यसपछि ‘यो जिन्दगानी’ ‘कोशीको पानी’, ‘गाउँ गाउँबाट उठ’, ‘रेशम’ र ‘तालको पानी’ पस्किँदै दर्शकलाई जुरुक्कै नचायो।
‘रातो र चन्द्रसूर्य’ बाट अन्त्य गर्नुअघि अमृतले संगीतको वहाबमा देश र समाजको कुरा मिसाए । नेतृत्वका कमी-कमजोरीले विगतमा नेपालीहरुले धेरै दुःख पाइसकेको भन्दै उनले थपे, 'अब चाहिँ कम्तीमा तमाम नेपाली मतदाताहरुले झुटा वचन दिनेलाई भन्दा एकपटक राम्ररी सोचेर सही नेतृत्वको चयन गरुन्।’
दुई घन्टासम्म लोक-रकको स्वाद चाख्न पाउँदा दर्शक औधी रमाए।
कन्सर्टमा अमृतलाई ध्रुव लामाले ड्रमसेटमा, सुरज थापाले किबोर्डमा, सुविन शाक्यले बेस गितारमा, निरज गुरुङले गितारमा र शान्ति रायमाझीले मादलमा सघाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।