काठमाडौं- पुस महिनामा समान्य बढेको वाणिज्य बैंकहरुको निक्षेप संकलन माघको पहिलो सातामा फेरि घटेको छ। पुस ३० गतेदेखि माघ ९ गतेसम्मको अवधिमा वाणिज्य बैंहरुले संकलन गरेको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ।
पुस ३० गतेसम्म बैंकहरुमा ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा माघ ९ गते घटेर ४३ खर्ब ११ अर्ब रुपैयाँ कायम भएको हो।
यता बैंकहरुको कर्जा लगानी भने एक अर्ब रुपैयाँले बढेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ। पुस ३० गतेसम्म ४१ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले माघ ९ गतेसम्म ४१ खर्ब ४४ अर्ब रुपैयाँ पुर्याएका छन्।
यो अवधिको बीचमा बैंकहरुमा स्थानीय मुद्रातर्फको निक्षेप संकलन १७ अर्ब रुपैयाँले ओरालो लागेको छ। यसकारण बैंकहरुको निक्षेप संकलनमा गिरावट आएको हो। यस अवधिमा बैंकहरुमा विदेशी मुद्रामा आउने निक्षेप संकलन चार अर्ब रुपैयाँ बढेको संघको तथ्यांकमा देखिन्छ।
यसैगरी बैंकहरुले विदेशी मुद्रामा गर्ने कर्जा लगानी सात अर्ब रुपैयाँले घटेको छ भने स्थानीय मुद्राको कर्जा लगानी आठ अर्ब रुपैयाँ बढेको संघले जानकारी दिएको छ। चालु आर्थिक वर्ष लागेसँगै बैंकहरुमा लगानीयोग्य रकम (तरलता)को अभाव देखिन थालेको थियो।
तरलता अभावको समस्या अझै कायम छ। यसलाई न्यूनीकरण गर्न सरकार तथा नेपाल राष्ट्र बैंक लागिपरे पनि समस्या सुल्झिन सकेको छैन। बैंक तथा वित्तीय संस्थामा पर्याप्त रुपमा निक्षेप संकलन हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।