काठमाडौं- युक्रेनमाथि रुसले हमला गर्नसक्ने आशंकामाझ अमेरिकाले करिब साढे आठ हजार सेनालाई जहाँ पनि जान सक्नेगरी उच्च सतर्क अवस्थामा रहेको जनाएको छ।
तर रुसले भने युक्रेनमाथि आक्रमण गरेर कब्जा गर्ने आफ्नो मनसाय नभएको बताउँदै आएको छ।
पछिल्ला महिनाहरूमा युक्रेन नजिक ठूलो संख्यामा रुसी सैनिकहरूको उपस्थिति भएपछि त्यहाँ जुनसुकै बेला युद्ध हुनसक्ने चिन्ताहरू व्यक्त भइरहेका छन्।
युक्रेन मामिलालाई लिएर अमेरिकी राष्ट्रपति जो वाइडेनले सोमबार आफ्ना युरोपेली साझेदारसँग भिडियो कलमार्फत कुराकानी गरेका छन्। उनीहरूले रुसविरुद्ध सामूहिक रणनीति अपनाउनेबारे छलफल गरेको बताइएको छ।
पेन्टागनले सैनिकहरू तयारी अवस्थामा रहेका भए पनि उनीहरूको तैनाथीबारे हालसम्म निर्णय भइनसकेको जनाएको छ।
पेन्टानगनका प्रवक्ता जोन कर्बीले यदि नेटोले 'र्यापिड एक्सन फोर्स'लाई परिचालन गर्ने वा रुसी सैनिकहरूको उपस्थिति रहेको क्षेत्रमा कुनै नयाँ अवस्था उत्पन्न भएमा मात्र तयारी अवस्थामा रहेका सैनिकहरू त्यस क्षेत्रमा पठाइने जानकारी दिएका छन्।
उनले युक्रेनमै अमेरिकी सैनिकहरू तैथान गर्ने कुनै योजना नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।