काठमाडौं- पश्चिमी अफ्रिकी मुलुक बुर्किना फासोको सरकारले सेनाले ‘कू’को प्रयास गरेको समाचारको खण्डन गरेको छ।
आइतबार राजधानी ओउगाडोउगुलगायत दुई सैन्य ब्यारेकहरूमा गोली चलेको थियो। यस्तै, राष्ट्रपति रोच मार्क काबोरेलाई सेनाले हिरासतमा लिएपछि ‘कू’ गरेको समाचारहरु प्रकाशित भएको थियो।
अलजजिरका अनुसार सांगौले लामिजाना ब्यारेकमा आइतबार गोली चलेको थियो। जहाँ सेना र एक जेलमा २०१५ मा ‘कू’को प्रयास गर्ने सैनिकहरू राखिएको छ।
उक्त जेलमा आइतबार करिब बिहान ५ बजे सिपाहीहरुले हवाई फायर गरेको स्थानिय सञ्चारकर्मीहरुले बताएका छन्। एक प्रत्यक्षदर्शीका अनुसार ओउगाडोउगुलको उत्तरमा रहेको कायाको सैन्य ब्यारेकमा पनि गोली चलेको थियो।
राजधानीको दक्षिणी भागमा रहेको बेबी साइ नामको अर्को सैन्य ब्यारेक र विमानस्थल नजिकैको एयरबेसमा पनि गोलीको आवाज सुनिएको थियो। बुर्किना फासोको सरकारले केही सैन्य ब्यारेकहरूमा गोली चलेको पुष्टि गरेको छ। तर, सेनाले सत्ता कब्जा गरेको समाचारहरुलाई अस्वीकार गरेको छ।
आइतबार राष्ट्रिय टेलिभिजनमा बोल्दै रक्षामन्त्री जनरल बाथेलेमी सिम्पोरले सेनाले सत्ता कब्जा नगरेको स्पष्ट पारेका हुन्।
‘राष्ट्रपति रोच मार्क काबोरेलाई हिरासतमा राखिएको छैन। देशका कुनै पनि संस्थालाई धम्की दिइएको छैन,’ सिम्पोरले भने,‘अहिलेको लागि हामीलाई उनीहरूको मनसाय वा उनीहरूले के माग गरिरहेका छन् भनेर थाहा छैन। हामी उनीहरूसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छौं।’
बुर्किना फासोमा हिंसाका घटनाहरु भइरहन्छ। उक्त घटना रोक्न सरकार असफल भएको भन्दै शनिबार प्रदर्शन भएको थियो।
उक्त प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच झडपसमेत भएको थियो। त्यसको एक दिनपछि सेनाले गोली चलाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।