काठमाडौं- श्रीलंका एकातिर आर्थिक संकटबाट गुज्रिरहेको छ भने अर्कोतर्फ सर्वसाधारण मुद्रास्फीतिको मारमा परेका छन्। श्रीलंकाली तथ्यांक कार्यालयका अनुसार डिसेम्बर २०२१ मा राष्ट्रिय उपभोक्ता मूल्य सूचकांकमा उल्लेखनीय वृद्धि भएको थियो।
यो डिसेम्बरमा ११.१ प्रतिशतबाट बढेर १४ प्रतिशतमा पुगेको छ। नोभेम्बर २०२१ मा पहिलोपटक मुद्रास्फीति २ अंकमा पुगेको थियो। राष्ट्रिय उपभोक्ता मूल्य सूचकांकका अनुसार गत वर्षको डिसेम्बरमा खाद्य मुद्रास्फीति ६.३ प्रतिशतले बढेको थियो भने अन्य वस्तु १.३ प्रतिशतले महँगो भएको थियो।
श्रीलंकाको डिसेम्बर २०२१ सम्मको तथ्यांकलाई हेर्ने हो भने खाद्य उपसूचकांकमा पछिल्लो १ वर्षमा २१.५ प्रतिशतले वृद्धि भएको देखिन्छ। अर्कोतर्फ गैरखाद्य वस्तुको मूल्य ७.६ प्रतिशतले बढेको छ। २०२० मा कोरोना महामारी सुरु भएदेखि नै श्रीलंकाली सरकारले विदेशी मुद्रा सञ्चितिसँग सम्बन्धित संकटबाट बच्न आयातमा विभिन्न प्रतिबन्ध लगाएको छ।
आयातका लागि आवश्यक पर्ने डलर अभावका कारण त्यहाँका सर्वसाधारण अत्यावश्यक वस्तुको अभावमा झेलिरहेका छन्। सरकारी निकायले विद्युतको बाँकी बक्यौता चुक्ता नगर्दा इन्धन आपूर्तिसमेत बन्द भएको छ।
इन्धन अभावका कारण सर्वसाधारणले बारम्बार विद्युत् कटौतीको सामना गर्नुपरेको छ। जनवरी २०२२ को सुरुमा भारत सरकारले श्रीलंकालाई १ अर्ब डलरको आर्थिक सहायता दिएको थियो। यो सहयोगको उद्देश्य खाद्य संकट रोक्न थियो।
यस महिनाको सुरुमा चिनियाँ विदेशमन्त्री वाङ यी कोलम्बोको भ्रमण गरेका थिए। त्यस क्रममा राष्ट्रपति गोटाबाया राजापाक्षेले विदेशी मुद्रा सञ्चिति र ऋण सम्बन्धी संकटलाई पार गर्न मद्दतको लागि आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।