काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र देखिएका समस्याका विषयमा बैठक बोलाएर छलफल गर्ने बताएका छन्। जसपालाई एकताबद्ध बनाएर सबैलाई समेट्ने प्रयासमा आफूहरु रहेको बताउँदै यादवले कसले के गर्न खोजेको हो भन्ने बारेमा थाहा नभएको प्रतिक्रिया दिए।
जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईप्रति उनको भनाइ लक्षित थियो। ‘पार्टीमा कतिपय साथीहरुले कमिटीबाहिर मिडिया र सामाजिक सञ्जालमा असन्तुष्टिहरु पोखिरहनुभएको छ,’ नेपाल लाइभसँग कुरा गर्दै यादवले भने, ‘पार्टीमा मैले कतै समस्या देखेको छैन। तर, साथीहरुले समस्या भयो भनेर बोलिरहनु भएको छ। त्यस्तो हो भने पार्टी कमिटीमा छलफल गर्छौं।’
पार्टीका विषयमा बाहिर मिडियामा प्रचार गर्नु ठीक नभएको भन्दै यादवले आफूले कमिटी बैठकमै छलफल गर्ने बताए। ‘पार्टीका विषयमा बाहिर मिडियामा बोल्नु उचित हुँदैन। बाहिर बोलेर समस्या समाधान हुने कुरा होइन,' यादवले थपे, ‘पार्टीका राम्रा/नराम्रा सबै विषय कमिटीभित्रै छलफल गरेर जानु उचित हुन्छ।’
जसपाभित्र बाबुराम भट्टराई र अशोक राईपक्षले यादव सामूहिक नेतृत्वको अभ्यासमा नगएको आरोप लगाएका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीबाट यादवले मनोमानी रुपमा मन्त्री पठाएको, राष्ट्रिय सभाको उम्मेदवार बनाउँदा परामर्श नगरेको लगायत उनीहरूको आरोप छ।
अध्यक्ष यादवले कार्यकारिणी समितिको बैठक नबोलाए एक चौथाइ सदस्य बोलाएर अघि बढ्ने बाबुराम-अशोकपक्षको तयारी छ।
बाबुराम-अशोकपक्षले आफ्नोपक्षको बैठक बोलाउने धम्की दिएलगत्तै यादवले बैठक बोलाएर छलफल गर्ने बताएका हुन्।
जसपामा महन्थ ठाकुरपक्षले अर्को पार्टी बनाएर अलग भएको ६ महिनामै पुनःविवाद देखिएको छ। अहिले जसपाभित्र बाबुराम भट्टराई र अशोक राई तथा उपेन्द्र यादवले भिन्नै समूह चलाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।