काठमाडौं- फिल्म उद्योगमा एउटी हिरोइनको आयु छोटो हुन्छ। तर रेखा थापा १५ वर्षदेखि अविछिन्न हिरोइनका रूपमा नेपाली फिल्ममा टिकिरहेकी छिन्। दुई सातापछि उनको होमप्रोडक्सन 'रूद्रप्रिया' रिलिज हुँदैछ। मल्टिप्लेक्समा चल्दिनँ भन्ने मान्यता राख्ने उनी यसपटक त्यसलाई भत्काउने दाउमा छिन्।
'म यसलाई होइन भन्दिनँ तर यो पूरै सत्य पनि होइन,' उनी आंशिक रूपमा स्वीकार्छिन्, 'लुटपछि नेपाली फिल्मको दिशा बदलिएको छ। त्यस अनुसारका फिल्ममा म आएकी छैन। म परिवर्तनबाट पर रहेको देखिएला। फिल्म उद्योगलाई परिवर्तन गर्छु भनेर आएका नयाँ मेकरहरू विशेषगरी नयाँ निर्देशकले आफूभन्दा फरक गर्न सक्छे भनेर चुनौती दिन नसकेकाले यस्तो भएको हो। म चाहन्थेँ कोही नयाँ निर्देशकले मलाई चुनौती देओस्।'
त्यसो त 'रूद्रप्रिया'ले आफूलाई लागेको आरोप मेट्ने बताउँछिन् उनी।

'तपाईंका लागि फरक हुनेछ भनेर फिल्मको प्रस्ताव लिएर निर्देशकहरु नआउनुभएको पनि होइन। सिङ्गलमा मात्र चल्ने भनेर आरोप लागेकी मैले ती फिल्मको भविष्य मल्टिप्लेक्समा देखिनँ र गरिनँ,' उनी भन्छिन्, 'पछि ती फिल्ममा अरुले काम गरे ती चलेनन्। एक जना निर्देशकले मलाई 'दिदी तपाईंसँग काम गर्न मन छ तर कस्तो भनेर अप्रोच गर्ने आँटै नै आएन' समेत भने।'
एउटा सच्चा कलाकारलाई राम्रो भूमिकाको सधैं लोभ हुन्छ। लोभ लागेको चरित्रमा काम गर्न उसले सक्दो मेहेनत र त्याग गर्छ। 'अरूको चुनौती कुरिराख्नु भन्दा यसपटक एक कदम अघि बढेर आफूले आफैलाई चुनौती दिएको छु,' उनी भन्छिन्।
आजसम्म गरेकाभन्दा भिन्न किसिमको भूमिका फिल्ममा रहेको उनको दाबी छ। 'फिल्म बनाउनेबारे सोचिरहेका बेला यो स्क्रिप्ट सुन्न पाएँ। पहिलो पटक सुन्नेबित्तिकै फिल्म बनाउन राजी भएँ,' उनले सुनाइन्, 'फिल्मको कथामा यति लोभिएँ कि निर्माण गर्न तयार भएको अर्को फिल्मलाई पर सार्दै यसैलाई अगाडि बढाएँ।' निर्देशक सुदिप भूपाल सिंहको कथा सुनेरै आफूले ओके गरेको उनको भनाइ छ।
आर्यन सिग्देल र रेखा नयाँ शैलीमा ८ वर्षपछि सँगै जोडिएका छन्। राजन इशान यसै फिल्मबाट डेब्यु गर्दैछन्। अघिल्ला फिल्म रिलिज हुँदा रेखाका अनेक फन्डा सार्वजनिक हुन्थे। यसपटक भने उनी शान्त छिन्।

'रूद्रप्रिया हेरेपछि बुझ्नुहुनेछ, म किन शान्त छु। यो फिल्मलाई डेब्यु जस्तै मानेकी छु,' उनी उत्साहित हुँदै भन्छिन्, 'हिरो' रिलिज हुँदा मेरो अभिनय वा मलाई कसरी लिनुहोला भन्ने थियो, यसपटक ठ्याक्कै त्यही महसुस गरिरहेको छु। यसपटक मभन्दा पनि मेरो फिल्म बोलोस् भन्ने लागेको छ।'
नयाँ निर्देशक, नयाँ शैली र रेखा-आर्यनको ८ वर्षपछिको कमब्याक कत्तिको सफल हुने हो? प्रतीक्षा अब धेरै लामो छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।