मेरो पुर्खाको नाममा
बनाइएको छैन कुनै सानदार संग्रहालय
राखिएको छैन अस्थिपञ्जर
कतै सङ्ग्रहालयमा सजाइएको छैन
पुर्खाले चलाएको हतियार
नसम्झनू
म शिरविनाको नदी हुँ
जराविनाको रुख
र धुनविनाको सारङ्गी हुँ
नसम्झनू
म इतिहासविनाको मान्छे
एकफेर गएर हेर्नू किराँत आबादीमा
मेरा पुर्खाको नाममा नहोला
कुनै मन्दिर
पार्क
स्तम्भ
या कुनै शहर
तर पहाडको उकालोमा भेटिने
प्रत्येक चौतारोमा बिसाउनू
ढुङ्गामा खोपिएको युगौँ पुरानो अक्षर पढ्नू
युगौँदेखि अविचल उभिरहेको
त्यहीँ ढुङ्गा हुन् मेरा दस्तावेज
जानू ,
सुदूर पूर्वको उकलो पहाड चढ्नू
जहाँ भेटिने घुमाउने घरको
माथिल्लो तलाको कुनै कुनामा
भेट्नेछौ मेरो पुर्खाहरूको शिल्प, कला
भेट्नेछौ कोकुमा पिरिमाले बचाएको सभ्यता
कोक्पाले चलाएको भुत्ते हतियार
वाबुक, कठुवा, सापाडु
हो त्यहीँ त हो मेरो पहिचान
कोकु कोक्पाहरूले हस्तान्तरण गरेको
पैतृक सम्पत्ति छ
जो आपा आमाहरूको आवाजमा भेट्नेछौ
छाचामाचीको तोते लयमा भेट्नेछौ
जानू असारको उत्ताउलो झरीमा रुझ्नु
जहाँ खेतको गरैगरा भेट्नेछौ
असारे धुन
बिहे, भोज, भतेरमा छिर्नू
जहाँ भेट्नेछौ सिलोकको सुमधुर लय
हेर न
मेरो पैतृक सम्पत्ति भन्नु यही त हो
मेरो संस्कृति त्यसैलाई बुझ्नू
ओ शासक!
तिम्रा हरेक काल
इतिहास
सभ्यता बिक्रीमा छन्
र यो पनि थाहा छ
तिमी आफैं बिक्रीमा छौ
खबरदार!
म पुर्खाको विरासत बेचेर खाने
गद्दार होइन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।