काठमाडौं– निकै चर्चित भनेको फिल्म ‘केजीएफ’को सिक्वेल ‘केजीएफ चेप्टर– २’ प्रदर्शनको पर्खाइमा छ।
दक्षिण भारतीय सिनेमाका स्टार यश मुख्य भूमिकामा रहेको फिल्मको सिक्वेलमा सञ्जय दत्तले खलनायकको भूमिकामा अभिनय गरेका छन्। उनी फिल्ममा ‘अधिरा’को भूमिकामा देखिँदै छन्।
फिल्मको सिक्वेल ‘केजीएफ चेप्टर–२’ मा खलनायक रहेका दत्तले फिल्मका सबै द्वन्द्वका दृश्यहरु आफैंले खेल्ने भएका छन्। प्रायः एक्सन दृश्यहरुमा फिल्मको हिरो नभएर उनीहरुकै ‘बडी डबल’ गर्ने गर्छन्। तर, केजीएफ चेप्टर–२ मा भने दत्त आफैंले यी दृश्यहरुमा काम गर्ने भएका छन्।
भारतीय सञ्चारमाध्यमकाअनुसार दत्त आफैंले अभिनय गर्ने कुरा आएपछि फिल्मको निर्माण पक्षले सुरक्षालाई मध्यनजर गर्दै उनलाई त्यसो नगर्न भनेको थियो। तर, दत्तले भने अधिराको भूमिकामा उनी आफैंले काम नगरेमा पात्रको गुणस्तर कायम नहुने भन्दै बडी डबल नराख्ने घोषणा गरेका छन्।
अप्रिल १४ मा प्रदर्शन हुने तयारीमा रहेको केजीएफ चेप्टर–२ अहिले निर्माणको क्रममा छ। फिल्मलाई प्रशान्थ निलले निर्देशन गरेका छन्। फिल्ममा दत्त र यशसँगै श्रीनिधी शेट्ठी, रविना टण्डनलगायतको अभिनय रहेको छ।
फिल्मको पहिलो भाग २०१८ मा प्रदर्शन भएको थियो, जसले व्यापारिक र समीक्षात्मक रुपमा पनि निकै सफलता हात पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।