काठमाडौं– राष्ट्रिय सभाका १९ जना सदस्य (सांसद्)का लागि आगामी माघ १२ गते हुने निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको अन्तिम सूची प्रकाशन गरिएको छ।
निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभाका १९ पद (सदस्य)का लागि ४३ जनाको उम्मेदवारी परेको जानकारी दिएको छ।
३ जना निर्वाचित हुने प्रदेश १ बाट ८, २ जना निर्वाचित हुने प्रदेश २ बाट ५, २ जना निर्वाचित हुने बागमती प्रदेशबाट ६ जनाको उम्मेदवारी परेको छ। यस्तै, ३ जना निर्वाचित हुने गण्डकी प्रदेशबाट ६, ३ जना निर्वाचित हुने लुम्बिनी प्रदेशबाट ६ जना, ३ जना निर्वाचित हुने कर्णाली प्रदेशबाट ६ र ३ जना नै निर्वाचित हुने सुदूरपश्चिम प्रदेशबाट ६ जनाको उम्मेदवारी परेको आयोगले जानकारी दिएको छ।
राष्ट्रिय सभाका निर्वाचनका लागि सत्तारुढ गठबन्धनका दलहरुले भागबण्डा मिलाएर उम्मेदवारी दिएका छन्। गठबन्धनमा रहेका दल नेपाली कांग्रेसले ६, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ५–५ तथा जनता समाजवादी पार्टीले २ र राष्ट्रिय जनमोर्चाले १ पदका लागि उम्मेदवारी दिएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सबै पदमा उम्मेदवारी परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।