काठमाडौं– नेपालका दुई फिल्म विश्व प्रतिष्ठित रोट्रेड्याम फिल्म फेस्टिभलमा छनोट भएका छन्। निरञ्जन राज भेटवाल निर्देशित ‘अन्हद’ र सुनिल पाण्डे निर्देशित ‘बाघथान’ले ५१औं संस्करणको ‘इन्टरनेसनल फिल्म फेस्टिभल रोट्रेड्याम’मा आफ्नो स्थान बनाएका हुन्।
गत शुक्रबार फेस्टिभल आयोजक समितिले सार्वजनिक गरेको सूचीमा यी दुई नेपाली फिल्म पनि समावेश थिए। आइसफल प्रोडक्सनको ब्यानरमा बनेका दुवै फिल्म फेस्टिभलमा छनोटमा परेका हुन्।
छनोटमा परेका दुवै फिल्म लघु चलचित्र र मध्यम अवधिका फिल्महरुबीच महोत्सवमा उपाधीका लागि प्रतिस्पर्धामा छन्। भेटवालको निर्देशनमा बनेको फिल्म ‘अन्हद’मा हिन्दू संस्कारमा रहेको प्रेत र प्रेतलाई मुक्त गर्न गरिने धार्मिक संस्कारको कथा प्रस्तुत गरिएको छ।
त्यस्तै, पाण्डेको निर्देशनमा रहेको ‘बाघथान’मा भने बसाइँ सराइको कथालाई देखाइएको छ। ‘अन्हद’ १३ मिनेट अवधिको रहेको छ भने ‘बाघथान’को समयावधि २० मिनेटको रहेको छ।
भर्चुअल माध्यमबाट हुने फेस्टिभल यही जनवरी २६ देखि फेब्रुअरी ६ सम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।