काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रबीच एकता हुँदा आफू खुशी भएको भए पनि ओलीको उद्देश्य अर्कै रहेको बताएका छन्। शनिबार आफ्नो निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले एकतापछि ओलीमा दम्भ बढ्दै गएको बताए।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन आफूले पनि भूमिका खेलेको भन्दै प्रमुख दुई वाम पार्टी मिल्ने भन्दा आफूलाई खुशी लागेको उनले बताए।
'दुई पार्टीबीचको एकताले राम्रै अवस्था आयो भन्ने ठानेको थियौं। झन्डै दुई तिहाइ बहुमत आएको थियो। हामी प्रफुल्लित भयौं। तर, उद्देश्य अर्कै रहेछ', उनले भने, 'त्यो भनेको कमरेड प्रचण्डको टाउकोमा टेकेर सबैभन्दा अग्लो छु भनेर देखाउने सोच रहेछ। अर्थात् उहाँको पिठ्युँलाई सिढीको रुपमा प्रयोग गरेर आफूलाई अग्लो देखाउने प्रवृत्ति रहेछ। त्यही प्रवृत्तिले दम्भी नेतामा उहाँको (ओलीको) ठूलो 'प्रमोसन' भयो।'
ओलीले पछि पार्टीलाई हेप्न थालेको अध्यक्ष नेपालको भनाइ छ। 'बैठक नै नगर्ने, छलफलै नगर्ने, छलफल गरेपछि प्रश्न उठ्छ भनेर डराउने। आफूलाई अध्यक्ष बनाउन त्यत्रो सहयोग गर्ने वामदेव गौतम, जब उहाँले औंला ठड्याउन थाल्नुभयो, केपी ओली होसहवास गुमाउनुभयो।'
नेता गौतमले आफूले केपी ओलीलाई साथ दिएर ठूलो गल्ती गरेको भनेको नेपालले बताए। 'मैले माधव नेपालतिर यसो इशारा गरिदिएको भए उहाँले दुई सय मतले जित्नुहुन्थ्यो', गौतमको भनाइ उद्धृत गर्दै उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।