माहुरीले
बोकेर उडेको पृथ्वीबाट
चुहिइरहेको महको धारा
कसको मुखमा परेर पड्किने हुन्
चुइङ्गम चपाएर सोचिरहन्छन्
देवताहरू मरेर बनेका– तन्नेरी पहाडहरू
चाकाभित्रको अर्को पृथ्वीबाट
महकै बाँसुरी बजाएर सोचमग्न छन् प्यूपाहरू
बहुचर्चित तेस्रो विश्वयुद्धमा
सहभागी हुनेहरूका बारेमा
चौथो बिहे गर्ने इच्छासहित
दिनको तीन चम्चा शुद्ध मह खाएर
माइलाबाजे
ज्यान लागेको ऐना हेर्दै मुस्कुराउँछन्
हामी बाँचिरहेको पृथ्वीमा
त्यतिबेलै
भुरुरुरु... उडेर गयो रानी माहुरी
पछिपछि लागे हुल बाँधेर थुप्रै माहुरीहरु
त्यसैमध्येबाट मर्दै खसिरहेका थिए
बलशाली कविता लेख्ने
कवि माहुरीहरू
समय छँदै
पृथ्वीकै ठूलो किताबमा
आँखा छोपेर
लेखिदियो इतिहासले
यिनीहरूलाई सहिद भन्न मिल्दैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।