काठमाडौं– राष्ट्रिय सभाको आगामी निर्वाचन एमालेका लागि प्रतिकूल हुने बताउँदै अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनबाट प्रहारको अन्तिम किस्ता रहेको बताएका छन्। आगामी माघ १२ गते हुने निर्वाचनमा गठबन्धन विरुद्ध एमाले एक्लै भएकाले परिणाम प्रतिकूल भएपनि अहिलेको यथार्थ नभएको उनले बताए।
एमालेको जिल्ला अधिवेशन भर्चुअल रुपमा उद्घाटन गर्दै उनले राष्ट्रिय सभाको आगामी निर्वाचन एमालेका लागि प्रतिकूल हुने बताएका हुन्। साढे चार वर्षअघि नै जनताले दिएको मतका अहिले प्रयोग भइरहेको बताउँदै उनले थपे, ‘परिणाम प्रतिकूल आउन सक्छ। आजको जनमत होइन, यथार्थ जनतमत होइन।’
त्यो समय आफूहरुले विभिन्न पक्षलाई सन्तुलित मिलाएर, विभिन्न प्रकारका व्यवस्थापन गरेर विभिन्न प्रवृत्तिलाई सिट बाँडेकाका कारण अहिले समस्या आइलागेको बताए। उनले थपे, ‘पहिले नै निर्वाचित मतदाता हुने अवस्थामा, हाम्रो बेग्लै परिस्थितिको जनमतबाट बिगार्ने र भत्काउने साँठगाँठबाट हामी अनुकूल परिणाम नआउन सक्छ।’
एमाले एक्लै अरु भन्दा बलियो रहेको उल्लेख गर्दै भ्रममा नपर्न आग्रह गरेका छन्। ‘जनसमुदायलाई स्पष्ट पार्न चाहन्छु। बेग्लै परिस्थितिको दुरुपयोग गरेर पैदा गरिएको हो। सकारात्मक परिणाम आएन भनेर अनौठो मान्नुपर्ने कारण छैन।’
उनले संसदीय क्षेत्र र मैदानमा नेकपा एमालेमाथि गर्नसक्ने प्रहारको अन्तिम किस्ता रहेको उल्लेख गरे। यसभन्दा पछि जनतामा जाँदा उक्त हैसियत नरहने ओलीको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।