काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका ७७ वटै जिल्लाका अधिवेशन आज (शुक्रबार) एकै दिन सुरु हुँदै छ। मौसमी प्रतिकूलताका कारण आज जिल्ला अधिवेशन आयोजना गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने एमालेले जनाएको छ।
अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले एकैसाथ ’भर्चुअल’ माध्यमबाट उद्घाटन गर्ने भएका छन्। बिहान ११ बजे अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्ने तय भएको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
ओलीले अधिवेशन उद्घाटनसँगै सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ। पार्टी केन्द्रीय कार्यालयबाट ओलीले सम्बोधन गर्न लागेका हुन्। देशभरका अधिवेशन स्थलमा अध्यक्ष ओलीको कार्यक्रमको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको छ।
पहिले भने जिल्ला कमिटीको अधिवेशन फरक–फरक मितिमा हुने गरेको थियो। एमालेको विधानमा तीन/तीन वर्षमा जिल्ला अधिवेशन गर्नुपर्ने व्यवस्था छ।
गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको मङ्सिर २५ र २६ गते भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठले यही पुस २३ गतेका लागि जिल्ला र आउँदो माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो।
महाधिवेशनमा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादका आधार निर्माण गरौँ’ भन्ने मूल नारा तय गरेको एमालेले जिल्ला अधिवेशनको तयारीका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ। ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्ज गृह जिल्लामा पुगेका छन्।
अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्न एमालेले सर्कुलर गरेको छ। निर्वाचनको विधि र प्रक्रियाका हकमा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशनअनुसार गर्न पनि भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।