कञ्चनपुर- मर्मत सम्भारको अभावमा कञ्चनपुर कारागारका भौतिक संरचना जीर्ण बनेका छन्।
कारागारको सुरक्षाका लागि बनाइएको उत्तर पूर्वतर्फको बुर्जा समेत जीर्ण हुँदा जुनसुकै बेला पनि भत्कने अवस्थामा रहेको कारागार कार्यालयका प्रमुख श्यामराज भट्टले बताए। 'सडकमा गाडी गुड्दा बुर्जा हल्लिने गरेको छ,' उनले भने, 'यसले मानवीय क्षति निम्त्याउने खतरा बढेको छ।'
भूकम्प आएका बेला बुर्जामा क्षति पुगेको थियो। हालसम्म आर्थिक अभावले कारागार प्रशासनले सो मर्मत गर्न सकेको छैन। कैदीबन्दी बस्नका लागि बनाइएका भवनको छतबाट समेत वर्षाका बेला पानी चुहिने गरेको छ।
२०३२ सालमा बनेका भवन मर्मत नहुँदा र पर्खालका इँटा समेत पुराना हुँदा खिइएर झर्न थालेको छ। 'कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने अवस्था भएकाले नयाँ भवन निर्माणको आवश्यकता छ,' उनले भने।
कारागारमा २३३ पुरुष र २१ महिला गरी २५४ जना कैदीबन्दी राखिएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।